त्रिविमा ‘बुद्धि भन्दा बल ठूलो र बल भन्दा दल ठूलो’ भन्ने अवस्था आयोः सुमना श्रेष्ठ

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीका कारण त्रिभुवन विश्वविद्यालय लथालिंग बनेको आरोप लगाएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले विश्वविद्यालयको अहिलेको अवस्था हेर्दा ‘बुद्धि भन्दा बल ठूलो र बल भन्दा दल ठूलो’ भन्ने अवस्था देखिएको बताएकी हुन् ।

उनले भनिन्,‘हामीलाई सानोमा पढाउँदा बल भन्दा बुद्धि ठूलो भनिएको थियो । तर अहिले त्यसको उल्टो भयो । विभागीय प्रमुखको पदका लागि दलीय राजनीतिकरण निम्त्याएको दूरदशा हो ।’

उनले यसमा प्रधानमन्त्री ओलीको कार्यक्षमता माथि प्रश्न उठाइन् । उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने, त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ? प्रधानमन्त्री, दलीय राजनीतिले जडजड बनाएको दुई ठूला दलको भातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापक संगठन र त्यसलाई सही दिशातर्फ लान्छु भनेर लागेका को ?’

उनले यसमा नियत पनि खराब रहेको बताइन् । दलीय राजनीतिले जडजड बनाएको बेला त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताइन् ।

उनले सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटपिट गरेको तर क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मुकदर्शक बनेको बताइन् ।

उनले भनिन्, ‘साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन पुगेका अनेरास्वयुका नेताले परीक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुखदर्शन बने । त्यसको माउ पार्टीका प्रमुख को ? अहिलेको प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भन्ने को ? अहिलेको प्रधानमन्त्री । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नु पर्ने कारण के छ ? बताइदिनुपर्यो ।’

सम्बन्धित समाचार

सबै