मुहार फेर्दै बलेवाको कालभैरव मन्दिर

0 Shares

काठमाडौं /  विसं १७८० मा स्थापना भएको यहाँको बलेवास्थित कालभैरव मन्दिरको विसं २००० को दशकमा छानो फेरियो । डाँडाको टुप्पोमा बनेको सानो मन्दिर पौराणिक कलाकौशलले भरिपूर्ण छ । बलेवा कालभैरव मन्दिर पुग्ने जो–कोहीले पौराणिक संरचना देख्न पाउँछन् । देशभरका शक्तिपीठहरुमा आधुनिकताको लहर चल्दा पनि यो मन्दिरको मुहार फेरिएको थिएन ।

पत्थर माथि बनेको मन्दिर परिसरमा लगाइएको ढुङ्गामाटोको पर्खाल उस्तै छन् । मन्दिर छेउको मौलो, मूर्ति हिजो जुन अवस्थामा थिए, आज पनि उस्तै छन् । विभिन्न कालखण्डमा मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि बनेका समितिले मन्दिरको गरिमा जोगाए । मन्दिरलाई आस्थाको केन्द्र बनाए । तर यहाँ अन्य संरचना निर्माण हुन सकेन । भएकै संरचनाको संरक्षण चाहीँ गरे ।

सत्तल पुनःनिर्माण, समितिको सचिवालय भवन, प्रवेशद्वार र पैदलमार्ग निर्माणको काम अन्तिम चरणमा छ । मन्दिरको मूलढोका नजिकै गणेश मन्दिर निर्माण भएको छ । मन्दिर परिसरमा सिसी क्यामेरा, मोठ भेटीको सुरक्षा र चौतारी निर्माणाधीन छ ।

स्थानीयले इष्टदेवताको रुपमा मान्दै आएको बलेवा कालभैरव धार्मिक शक्तिपीठको रुपमा परिचित छ । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य सूचीमा परेको मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न संरचना निर्माण थालिएको छ ।

भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । दुई दर्जन हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने अग्लो ठाउँमा रहेको यस मन्दिरमा पुग्दा मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ । नियमित पूजा हुने मन्दिरमा साताको मङ्गलबार र शनिबार भक्तजनको चाप बढ्छ ।

सम्बन्धित समाचार

सबै