काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले सवैले एक अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा सवै भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् ।
जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति पौडेलले भाषाका बिषयका कुनै निषेध हुन नहुने भन्दै एक अर्काको भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका हुन् ।
उनले संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार भएकाले यस भाषा र वाङ्मयको विस्तारमा जोड दिए । नेपालमा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको ठूलो योगदान रहेको उनले स्मरण समेत गरे । राष्ट्रपति पौडेलले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा जयतु संस्कृतमा संस्थाले गरेको योगदानको चर्चा गरेका छन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरे । प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरिएको छ ।