काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले बैकिंङ क्षेत्रमा देखापरेका बिकृतिलाई नियन्त्रणका लागि प्रभावकारी कानून बनाउन आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा क्रममा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैङ्किङ कसुर र चेक अनादरका घटनाहरु धेरै नै बढ्दै गएकाले विधेयक छिटो पास गरेर बलियो कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।
बैंकिङ क्षेत्रको चेक अनादरको समस्या समाधान गर्न यससम्बन्धी कानूनलाई प्रभावकारी बनाउदै सजायसमेत तोक्ने गरि विधेयक ल्याइएको उनले बताए । बैङ्किङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र अदालती कारबाहीलाई समेत सरल, व्यवस्थित, व्यवहारिक बनाउनुपर्ने उनले बताए । अर्थमन्त्री पौडेलले सहकारीबाट हुने कारोवारलाई समेत बैंकिङ्ग कारोबार मानि विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।
सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन गरी चेक अनादर (बाउन्स) को सजायलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । विधेयकमा चेक अनादरलाई बैंकिङ कसुर मान्दै अधिकत दुई वर्षसम्मको कैद सजाय प्रस्ताव गरिएको छ ।