मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्छ :अध्यक्ष नेपाल

0 Shares

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

कृष्ण जन्माष्टमी तथा गौरापर्वका अवसरमा शुभकामना दिँदै उनले मौलिक चाडपर्व र संस्कृतिको संरक्षणबाट समाजलाई एकआपसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा सबै जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएका पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने उल्लेख गरे ।

सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै उनले सामाजिक असमानताको अन्त्य गरी पारस्पारिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनाले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरापर्वले विविधतायुक्त नेपाली समाजलाई सामाजिक एवं सांस्कृतिक रूपमा एकता र सहिष्णुताको भावनालाई विकास गर्ने विचार व्यक्त गर्दै सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्ध्न गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

सबै