काठमाडौं / जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेङ्गी रोग देखिने गरेको केसीले बताए। उनले भने, “अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।”यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
डेङ्गी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने उनले बताए । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ ।
डेङ्गी ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ । डेङ्गीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।