सुदूरपश्चिम / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको घमण्ड देखाए सडकमा आउने चेतावनी दिएका छन् ।
कैलालीको धनगढीमा पार्टीको दुई दिने परामर्श बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारलाई दुई तिहाईको घमण्ड नदेखाउन चेतावनी दिएका हुन् ।
उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने बताए । उनले भने, ‘यो सरकारलाई दुईतिहाइको घमण्ड नगर्न हामीले आग्रह गरेका छौँ । यो सरकारको सुरुवाती लक्षण राम्रो देखिएको छैन । यस्तै हो भने हामी सडकमा उत्रिन बाध्य हुनेछौँ ।’
त्यस्तै उनले भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद मान्य नहुने बताए । अध्यक्ष प्रचण्डले दुई ठूला पार्टी रक्षात्मक रूपमा मिलेको बताउँदै सरकार बनाउन माफिया सक्रिय भएको बताए ।
उनले भने, ‘यो सरकारले संविधानमाथि घात गर्छ कि भन्ने हामीलाई लागेको छ । त्यो हामी हुन दिँदैनौँ ।’ उनले माओवादी पार्टी फुट्नेमा कुनै सत्यता नभएको बताए । उनले बरु माओवादी घटकहरुसँग एकता वार्ता चलेकोले थप बलियो हुने दाबी गरे ।