भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरु अघि बढ्छ : सञ्चारमन्त्री गुरुङ

0 Shares

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरु अघि बढ्ने बताएका छन् । सोमबार राष्ट्रिय समाचार समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसंग भएको १०० दिनको कार्यसम्पादन सम्झौता अनुसार भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरु अघि बढ्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी विधेयक मन्त्रीपरिषद्मा भाद्र मसान्तसम्म पेश गर्ने जिकिर गरे । त्यस्तै दुरसञ्चारसम्बन्धि विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयकलाई संशोधन गर्नुपर्ने र डाटा सेन्टरलाई सञ्चालनका लागि मापदण्ड तयार गरिने उनले जानकारी दिए ।

त्यस्तै सरकारी इमेल सञ्चालन सम्बन्धी कार्यविधि तयार गरि छलफलका लागि सार्वजनिक गरिने उनले बताए । मन्त्री गुरुङले एआई सम्बन्धी नीति असोज मसान्तसम्म तयार गर्ने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली मन्त्रीपरिषद्बाट पारित गराउने काम पनि दशै अघि नै सम्पन्न हुने उल्लेख गरे । ब्रोडब्याण्ड नीति २०८१ को मस्यौदा तयार गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सेवा असोज मसान्तभित्रै थप ३० निकायमा पुराइने उनको भनाइ छ ।

उनले सय दिनको काम अन्तर्गत राससले २४ घण्टा सेवा सुचारु गर्ने र फाइबर टु द होम सवै जिल्लामा पुराउने काम सम्पन्न गरिसकेको बताए ।

सम्बन्धित समाचार

सबै