मोदी गाउँपालिकामा देउसीभैलो खेलेर सङ्कलित रकमले सडक ढलान

0 Shares

काठमाडौं / मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् ।

डिमुवा–तिलाहार–थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकाका साथै कुनै राजनीति दल तथा सङ्घ र प्रदेश सरकारको समेत प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको स्थानीयले बताएका छन् । बाढीपहिरोका कारण सडक सुविधाबाट गाउँ नै वञ्चित भएपछि गाउँले मिलेर देउसीभैलो कार्यक्रम सञ्चालन गरेका थिए ।

थामर्जुङमा एक सय ५५ घरपरिवार छन् । सोही गाउँमा खेलिएको देउसीभैलोबाट गत वर्षको तिहारमा रु १० लाख सङ्कलन भएको स्थानीय चन्द्रबहादुर नेपालीले बताए । विभिन्न निकायमा सडक स्तरोन्नतिका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफैँ जुटेर ढलान गरिएको उनले बताए।

स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० लाख र गाउँपालिकाको सहलगानी कोषबाट रु १५ लाख गरी रु २५ लाख लागतमा सडक ढलान गरिएको हो । गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य भए पनि गाउँमा जान समस्या भएको गुनासो आएपछि उक्त क्षेत्रमा पनि साझेदारी गरेर सडक ढलान गरिएको मोदी गाउँपालिका–६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए ।

उक्त रकमवाट झण्डै दुई सय मिटर सडक ढलान गरिएको छ । सडक ढलान गरेपछि बाह्रैमास सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।झण्डै तीन किलोमिटर लामो तिलाहार–थामर्जुङ सडकको अन्य भागको स्तरोन्नतिका लागि पनि पालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष लामिछानेले बताए। देउसीभैलो खेलेर सडकमा लगानी गरेको यो जिल्लामै नमूना कार्य भएको उनले बताए।

सम्बन्धित समाचार

सबै