काठमाडौं / उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताएका छन्। बुटवल उद्योग वाणिज्य सङ्घको ७१औँ साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताए।
उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै उद्योगी–व्यवसायीमा समेत आशाको सञ्चार भएको दाबी गरे। मुलुकका दुई ठूला पार्टी नेपाली कांगे्रस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नेतृत्वको समीकरण र सहयात्राले निरन्तरता पाउनेसमेत उनको भनाइ थियो ।
सरकार जनताका समस्या समाधान गरेर अघि बढ्ने बताउँदै आशातीत भएर लगानी गर्न उद्योगीलाई आग्रह गर्दै उनले सरकारले व्यावसायिक समस्या समाधान गर्न नीतिगत स्थिरता कायम हुनेगरी काम गरिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे। अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएको प्रतिकूलतालाई अनुकूल बनाउन प्रयत्नशील रहेको बताए।
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउनेगरी काम गरिरहेको जानकारी दिए। उनले राजनीतिक अस्थिरताकै कारण बुटवलको मोतिपुर औद्योगिक क्षेत्रले सही रूपमा आकार ग्रहण गर्न नसकेको उल्लेख गरे। “औद्योगिक क्षेत्रको काम रोकिएको नभएर केही विलम्ब मात्र भएको हो । अब समस्या नभएका जग्गाका प्लट बनाएर निजी क्षेत्रलाई वितरण गर्ने गरी काम अघि बढाउने सरकारले आवश्यक काम गरिरहेको छ । निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–चनौटा सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज, सिद्धबाबा सुरुङ मार्गको निर्माण सम्पन्न र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनपछि रुपन्देही देशकै आर्थिक केन्द्र बन्ने विश्वास लिएका छौँ”, अर्थमन्त्री पौडेलको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत स्थायित्व दिन नसक्दा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न नसकेको बताए। उनले वर्तमान सरकार गठनपछि निजी क्षेत्रका समस्या सुन्ने र आवश्यक छलफल गरेर समस्या समाधनका लागि पहल गर्नु सकारात्मक भए पनि लगानी गर्दा कानुनी अप्ठ्यारा र झन्झट फुकाउन सरकारलाई आग्रह गरे ।