काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नु पर्नेमा जोड दिएका छन्।प्रधानमन्त्रीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको जनाए।
“सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ”, सन्देशमा भनिएको छ ।