काठमाडौँ उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका छन्।
उपप्रधानमन्त्री सिंहले आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका हुन । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको भूमिका महत्वपूर्ण रहेको बताए ।
“नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताएका थिए । उनले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गरेनन्”, उपप्रधानमन्त्री सिंहले भने। नेपालमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले ‘कु’ गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिएको उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।