संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ : सभामुख देवराज घिमिरे

0 Shares

काठमाडौं / सभामुख देवराज घिमिरेले संविधानलाई प्रभावकारी बनाउन सरोकार भएका सबैले एकापसमा सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने बताएका छन् ।

नेसनल लेजिस्लेटिभ एकेडेमीद्वारा आज ललितपुरमा आयोजित ‘संविधान कार्यान्वयनको वर्तमान अवस्था’ विषयक अन्तर संवाद कार्यक्रममा सभामुख घिमिरेले सङ्घीयताका आधारमा संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्न सबैको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिए। उनले तीनै तहका कतिपय कानुन बनाउने काम बाँकी रहेको अवस्थामा वस्तुगत आधारमा स्थानीय र प्रदेशले गरिरहेका काम र प्रयत्नका परिणामका बारेमा सोच्दै संविधानलाई प्रभावकारी बनाउन सबैले ध्यान दिनुपर्ने धारणा राखे।

“कानुन निर्माण र कार्यान्वयन महत्वपूर्ण विषय हो । परिवर्तित समयमा छोटो समयमा कतिपय कानुनहरु हामीले बनायौँ, तिनीहरुको कार्यान्वयनमा समस्या देखापरेको छ, तिनको समीक्षा गर्नुपर्छ र छलफल गरी अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने । उनले जनताको चाहनाअनुरुप संविधान बनाउनेमा समयसापेक्ष समीक्षा गर्नुपर्छ भन्दै कतिपय कानुनमा सङ्गति नमिलेका कुरालाई मिलाउनु आवश्यक रहेको धारणा राखे।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनचाहनाको दस्तावेजका रुपमा रहेको अहिलेको संविधानको मूल मर्मलाई सबै मिलेर सफल कार्यान्वयन गर्नु पर्ने बताए। “यो संविधान आफैँमा पूर्ण छैन, कतिपय नमिलेका कुरालाई मिलाएर लैजान सरोकार भएका बीच छलफल आवश्यक छ । एकात्मक र केन्द्रीय राज्यसंरचनालाई सङ्घात्मक बनाउने कार्य बिना कुनै अवरोधका साथ सम्पन्न भएको छ”, उनले भने।

बन्नुपर्ने कानुन समयमा बन्न नसक्दा सृजना हुने व्यवधानहरुले संविधान र सङ्घीयता कार्यान्वयनका विषयमा चुनौती थपिएकाले जनअपेक्षाअनुसार सेवा प्रवाह हुन नसकेको अध्यक्ष दाहालले धारणा राखे। उनले तीन तहको सङ्घीयता नेपाली जनताको चाहना हो भन्ने विषय संविधानसभाबाट पारित संविधान आफैँमा साक्षी रहेको बताउँदै समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अवलम्बन गर्दै हामी अघि बढिरहेका उल्लेख गरे।

गृहमन्त्री रमेश लेखकले संविधान निर्माण भएपछि मुलुकले गति प्राप्त गरेको धारणा राखे। “हामीले असल संविधान बनाएका छौँ, केही कमीकमजोरी छन्, त्यसलाई सुधार गर्दै लैजाने हो । नेपालको लामो संवैधानिक अनुभव र यात्राको जगमा वर्तमान संविधान प्राप्त गरेका छौँ, राजनीतिक उतारचढाव र परिवर्तनका राम्रा र नराम्रा अनुभवबाट हामी यो अवस्थामा आइपुगेका हौँ”, उनले भने।

 

सम्बन्धित समाचार

सबै