काठमाडौं / मौसममा आएको परिवर्तन सँगै बैतडीका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् ।
पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए। उनले भने, “मौसममा आएको परिवर्तन सँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोको सङ्ख्या बिरामी बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।”
अस्पातलका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशत भन्दा बढीमा भाइरल ज्वरो देखिएको उनले जानकारी दिए ।
उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेङ्गी, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका सूचना अधिकारी डोबालले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए। मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सय उपचारका लागि आउने गरेकामा ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।
पुर्चौँडी क्षेत्रमा पनि अन्यको तुलनामा भाइरल ज्वरोको बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य संस्थामा उपचार गर्न पुग्नेमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका पुर्चौँडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताए।
मौसम परिवर्तनका साथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए। उनले भने, “स्वास्थ्यचौकीमा उपचार गर्न आउने बिरामीमा भाइरल सङ्क्रमण देखिने गरेको छ । ज्वरोका बिरामीमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले परीक्षण गरेर मात्रै औषधि दिने गरेका छौँ ।”
प्रमुख भट्टले ज्वरोका बिरामीले मेडिकलबाट आफू खुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले थप समस्या हसने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नु पर्नेमा जोड दिए।