काठमाडौं / दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक÷एक जनामा डेङ्गी सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ । करिब दुई हप्तादेखि दैनिकजसो डेङ्गी सङ्क्रमण देखिएको हो ।
हालसम्म एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म करिब दुई महिनाको अवधिमा ६२ पुरुष र ७२ महिलामा डेङ्गी सङ्क्रमण देखिएको छ । अझै डेङ्गी सङ्क्रमणदर बढ्ने अनुमान गरिएको उनले बताए।
हाल सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।