काठमाडौँ / चितवनसहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन् । सिँचाइ सँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग गर्दै आएका छन् ।
कार्यालयमा हालसम्म स्यालो ट्युवेल दुई सय ५० र डिप ट्युवेल ४० वटा माग भएकामा बजेट अभावले चालु आर्थिक वर्षमा ६२ वटा योजना मात्रै कार्यान्वयन गर्ने तयारी भएको हो ।
आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार चितवनमा ३८, मकवानपुरमा पाँच र नवलपरासी बर्दघाट सुस्ता पूर्व मा १९ वटा आयोजना सञ्चालन गरिँदै छ । चितवनको इच्छाकामना गाउँपालिकाबाहेक अन्य सबै पालिकामा आयोजना कार्यान्वयन हुने उनले बताए।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका तथा मनहरी, बकैया र बागमती गाउँपालिकामा आयोजना सञ्चालन हुने केसीले जानकारी दिए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु र विनय त्रिवेणी नगरपालिकामा आयोजनाको काम हुने उनले बताए ।