भरतपुरको मुख्यबजार क्षेत्रको सडक निर्माण अन्तिम चरणमा

0 Shares

काठमाडौँ / भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इ सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम बाँकी रहेको छ । उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ । पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिए । वर्षात्का कारण रङरोगनको काम रोकिएको हो ।
भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्यालगरी छ दशमलव शून्य आठ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो ।

सडकको दायाँबायाँ ११ दशमलव पाँच मिटरका दरले कालोपत्र गरिएको छ । त्यसकाबीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बनेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्टलाइट र वृक्षरोपणको काम भइरहेको बताइन् । सडकमा वृक्षरोपणका लागि महानगरपालिकाले रु ९५ लाखको ठेक्का गरिसकेको छ ।गत वर्ष बजेट निकासा नहुँदा महानगरपालिकाले संस्थागत रुपमा पहल गरेर बजेट निकासामा सहयोग गरेको थियो । दाहालले भनिन्, “महानगरको सौन्दर्यसँग जोडिएकाले यो सडकलाई सुन्दर र हरियाली बनाउने काम महानगरले पनि गरिरहेको छ ।”

सम्बन्धित समाचार

सबै