काठमाडौँ / गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित यही असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता छ । प्रतियोगिताको समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बी’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।
उद्घाटन खेलमा घरेलु टोली कास्की र पर्वतकाबीच खेल सञ्चालन भएको छ । प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदशेसभा सदस्य प्रकाश बरालले क्रिकेट खेलाडीले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताए ।गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय गण्डकीको क्रिकेटले फड्को मार्दै गएको बताए ।
“नेपाली क्रिकेटको जग बलियो बनाउन उमेर समुहका प्रतियोगिताहरु महत्वपूर्ण छन् । खेलाडीले आफ्नो खेल प्रदर्शनलाई उच्च बनाउन बनाउँदै प्रादेशिक तथा राष्ट्रिय टोलीमा छनोटमा पर्ने गरी मेहनत गर्नु आवश्यक छ ।”