काठमाडौँ / घर जान लागेका प्रधानन्यायधीशले न्यायाधीश नियूक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले बिरोध जनाएको छ ।
बुधबार बार परिसर रामशाहपथमा विरोध सभा गर्दै नेपाल बारले गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि घर जान लागेका प्रधानन्यायधीशले न्यायाधीश नियूक्ति गर्न लागेको भन्दै विरोध जनाएको हो ।
न्यायाधीशहरुको वरियतालाई उथलपुथल पार्दै न्यायपरिषद्को गरिमालाई घटाउने कुनै काम नगर्न बारले ध्यानाकर्षण गराएको छ ।त्यस्तै बारले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायीक संशोधन तत्काल खारेज गर्नुपर्ने माग राखेको छ ।
नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले घर जान लागेको प्रधानन्यायधीले हिसाव किताव मिलाउनका लागि छिटो छिटो न्यायाधीश नियुक्त गर्न लागेको आशंका व्यक्त गरे ।
नियमावली संशोधनको विवाद यथावत राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्ने भन्दै उनले गैरसंवैधानिक कामलाई बारले हेरेर मात्रै बस्न नसक्ने स्पष्ट पारे । नेपाल बारले न्यायालयमा व्याप्त भ्रष्टाचार, बिकृति, विसंगति अन्त्य गरि न्यायिक स्वच्छता कायम गर्न पनि माग गरेको छ ।