बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

0 Shares

काठमाडौँ / लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपद् महाशाखाले जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयम्सेवक तथा आम सर्वसाधारण नागरिकमा अपिल गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत समुदायका नागरिक बिचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो ।

नारायणी नदीको पानीको बहाव बढ्दा बाँधसमेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ ।

बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछि दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा नौवटा घर जोखिममा परेपछि परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

माथागढी–७ निवासी लोकमाया चुहानको घर जमिन भासिँदा जोखिममा परेपछि सातजना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हीराबहादुर ढेगाको घर पनि बस्न नमिल्ने भएपछि ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ ।

गुल्मी जिल्लाको छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षति पुगेको जनाइएको छ ।

सम्बन्धित समाचार

सबै