प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

0 Shares

काठमाडौँ  /  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्ने तर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् ।

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन् । “बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ”, मन्त्री भण्डारीले भने। साथै उनले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहुने बताए।

यसैबीच, होटल सङ्घ नेपालले निराधार रुपमा आफूखुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति जनाएको छ । “होटल सङ्घसँग अनुगमन नगर्ने कुनै सहमति भएको छैन, बरु केही होटलहरुले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा अत्यावश्यक वस्तुको बेचबिखन गरिरहेका सूचना प्राप्त भएका छन्, अनुगमनलाई मन्त्री कडाइ गर्न निर्देशन गरिसकेका छन् ”, मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले भने ।

विभागका प्रवक्ता डिकबहादुर काकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विभागले वर्षेभर गर्ने नियमित बजार अनुगमनका अतिरिक्त चाडपर्व लक्षित विशेष अनुगमनलाई अझ सशक्त र प्रभावकारी बनाएको, सार्वजनिक बिदामा समेत अनुगमन टोली परिचालन गरिएको र होटल तथा रेष्टुरेन्टलगायत सबै व्यापार व्यवसायमा विशेष अनुगमन गरिँदै आएको र यसलाई अझ सशक्त बनाइने व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ ।”

सम्बन्धित समाचार

सबै