म्याग्दीमा प्रशारण लाइन प्रभावितलाई सीपमूलक तालिम

0 Shares
काठमाडौँ /  नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितलाई सीपमूलक तालिम प्रदान गरिएको छ ।
प्राधिकरणको वातावरण विभागको आयोजनामा बेनीमा ६५ दिन सञ्चालन भएको तालिम आज सम्पन्न भएको हो । सम्बन्धित वडा कार्यालयको सिफारिसमा १५ जनालाई ‘हाउस वायरिङ’सम्बन्धी तालिम दिइएको विभागका वातावरणविद् नवराज पोखरेलले जानकारी दिए ।
उनीहरुलाई व्यावसायिक सीप तथा तालिम केन्द्रबाट मान्यता प्राप्त पहिलो तहको प्रमाणपत्र प्रदान गरिएको छ । म्याग्दी जिल्लामा घर तथा भवन निर्माणका लागि स्थानीय रुपमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले हाउस वायरिङसम्बन्धी तालिम प्रदान गरिएको वातावरणविद् पोखरेलले बताए।
मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि चार वर्षअघि निर्माण थालिएको आयोजनाको ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन निर्माण गर्न लागिएको हो ।

सम्बन्धित समाचार

सबै