काठमाडौं – नजिकिँदै गरेको चाडबाडका लागि सरकारले भारतबाट चिनी ल्याउने प्रक्रिया अघि बढाएको छ । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गरिने भएको छ ।सो चिनी ल्याउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ ।बुधबार आह्वान भएको सूचना अनुसार पाँच दिनभित्र यस्ता कम्पनीले चिनी आयातका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।
प्रस्ताव आव्हान गर्ने कम्पनीले आफुले ल्याउन चाहेको चिनीको परिणामा २ हजार ६ सय मेट्रिक टनबाट नघट्ने गरी परिणाम खुलाइ आवेदन दिनुपर्ने विभागले जनाएको छ ।सातभन्दा बढी कम्पनीबाट आवेदन पर्यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने भएको छ । सरकारले निजी क्षेत्रलाई पनि चिनी आयात गर्न दिन प्रस्ताव माग गरेको बताएको छ ।
कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र छ ।अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुने समेत विभागले स्पष्ट पारेको छ । अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिन भित्रै जानकारी दिनुपर्ने भएको छ ।
अनुमति प्राप्त कम्पनीले विभागबाट अनुमति प्राप्त गरेको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातित चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त तोकिएको छ ।चाडबाडमा चिनीको अभाव हुने र बढी मुल्य तिरेर काला बजारी मार्फत आएको चिनी उपभोक्ताले किन्नु परेको गुनासो विगत देखिनै हुदै आएको छ । सरकारले त्यस्तो समस्या समाधान गर्न चाडबाड नजिकिदै गर्दा चिनी आयात प्रक्रिया अघि बढाएको हो ।