काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताएका छन् । उनले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल पनि सञ्चालन गरिएको जानकारी गराए।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० युवा विद्यार्थी विशेष जिल्ला कमिटीको मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले विपद्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने बताए।
विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारी बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कोही कसैले कालो बजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं ११३७ मा खबर गर्न आग्रह गरे।
आधारभूत तहलाई दैनिक उपभोग्य वस्तुको सहज उपलब्धताका लागि मन्त्रालय लागिपरेको उनको भनाइ छ । उनले हरेक अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कम्तीमा रु पाँचदेखि रु १० सम्म मन्त्रालय मातहतका बिक्री कक्षमा सस्तो मूल्य कायम गरिएको जानकारी गराए।
एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य रमेश पौडेल, युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष रामजी सापकोटासहितको टोलीले विपद्जन्य अवस्था र चाडपर्वको मुखमा सहज आपूर्ति गर्नु पर्ने लगायत विभिन्न छबुँदे माग राखेर मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको थियो । साथै सो क्रार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेल उपस्थित थिए।