काठमाडौँ / गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन्।
आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए।
गृहमन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए । यसै क्रममा उनले पहिरोले क्षति पुयाएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गरे।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई रु दुई लाखका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए । उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइँने जानकारी गराए ।
निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी थिए ।