रुपन्देही / कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ ।
रुपन्देही प्रहरी श्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार विमानबाट भैरहवा ल्याइने तयारी गरे पनि विमानको समय नमिलेपछि मङ्गलवार ल्याइने भएको हो । रास्वपा स्रोतले पनि प्रहरीले रुपन्देही ल्याउने तयारी गरिएको सूचना पाए पनि औपचारिक जानकारी केही नआएको जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई सोमबार साँझ रुपन्देही ल्याउने तयारी गरिए पनि साँझ पोखराबाट आउने विमान नभएकाले मङ्गलवार ल्याइने जनाएका छन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई ल्याउन लागेको हो ।
यसअघि सहकारी ठगी आरोपमा कास्कीमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई रुपन्देही ल्याएर बयान लिई कास्की पठाइसकिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका-९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो ।
संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए।