काठमाडाैँ/ भारतीय क्रिकेटर शिखर धवनले सोमपाल कामीको कप्तानीमा खेल्ने भएका छन् । बिहिबार मात्रै नेपाल प्रिमियर लिग एनपीएल खेल्न कर्णाली याक्समा आवद्ध भएका धवनले टीमका मार्की खेलाडी (कप्तान) सोमपालकै कप्तानीमा खेल्ने फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले जानकारी दिए ।
बिहीबार बिहान कर्णाली याक्सले टिम मालिक झनकदत्त खनाल र धवनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी गराए पनि सम्झौता रकम भने खुलाएको छैन् ।
एनपीएलमा हालसम्मको ठूलो खरिदका रुपमा कर्णालीले भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वओपनर धवनलाई भित्र्याएको छ । र धवनले कम्तीमा पनि ४ खेल खेल्ने फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले जानकारी दिएका छन् ।
सोमपालको कप्तानीमा खेल्न धवनले कुनै पनि आपत्ति नजनाएको बताउँदै घिमिरेले धवनको इन्ट्रीसँगै कर्णाली याक्सले ४ जना विदेशी खेलाडीको कोटा पुरा गरेको बताए ।
विश्वकै चर्चित र ग्ल्यामरस लिग आईपीएलमा सर्वाधिक रन बनाउनेमा धवन विराट कोहलीपछि दोस्रो स्थानमा रहेका छन् । धवनले हैदरावाद डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबाट आईपीएल खेलिसकेका छन् ।
एनपीएल क्रिकेट प्रतियोगिता भने आउँदो मंसिर १५ गते देखी पुस ६ गते सम्म हुँदै छ । नेपाल प्रिमियर लिग एनपीएलको ८ टिम मध्य कर्णाली याक्स पनि एक हो ।