काठमाडाैँ/ पूर्णबहादुरको सारंगीलाई देशका विभिन्न २० वटा फिल्म हलबाट उतारिएको छ । निर्माता कम्पनी सेभेन सिजले शुक्रबार बेलुकी विज्ञप्ति जारी गर्दै देशका विभिन्न २० वटा फिल्म हलबाट उक्त चलचित्रलाई उतारिने जानकारी दिएको हो ।
केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि, निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराए पनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
शुक्रबार निकालिएको उक्त विज्ञप्तीमा सेभेन सिज सिनेमा परिवारले बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, दोलखाको चरिकोट हल, राजगढ़को एभरेष्ट हल,लालबन्दीको विना हल, गोरखाको गोरखा हल, बर्दिवासको बर्दिवास हल, मोरङको विराटचोक हल, इनरुवाको सी. वी हल, बरहथवाको दीपक हल, द्वारिका हल, विराटनगरको हिमालय हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, त्यसै गरी इलामको इलाम हल, महेन्द्रनगरको लभ कुश हल, त्रीमुत्री हल, जनकपुरको गिरिराज हल, दमकको पाथीभारा हलबाट उक्त फिल्म उतारिएको हो ।
यस्तै पूर्णबहादुरको सारंगीले प्रर्दशनको १५ दिन सम्म २९ करोड ३५ लाख कमाईसकेको छ । फिल्मले विहिबार १ करोड ९९ लाख ग्रस कमाएको वितरक मनोज राठीले जानकारी दिएका छन्, भने फिल्मले शुक्रबार सम्म ३० करोडको आँकडापार गरिसकेको अनुमान गरिएको छ । टिकटको बिक्री र अकुपेन्सीलाई हेर्दा यो फिल्मले शनिबार सम्म ३१ करोड नाग्ने अनुमानपनि गरिएको छ ।
फिल्मले सर्वाधिक धेरै कमाउने, सर्वाधिक शो पाउने र एकै दिन सर्वाधिक कमाउने चलचित्रको इतिहास पनि रचेको छ । अहिले पनि यस चलचित्रले देशका ३५० भन्दा बढी शो हरु पाईरहेको छ ।