काठमाडाैँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको अझै म्याजिक नम्बर नै रहेको दाबी गरेका छन्।
उनले शनिबार माओवादीको काभ्रे- काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने दाबी गरे ।
उनले भने, ‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरु गर्यौं, हामीसँग संख्या थिएन । यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को हाम्रो संख्यालाई जादूको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरु अझै बढी उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु । किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन ।’