काठमाडाैँ / नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा २ दिन पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । यस्तै बैठकले मंसिर ४ गते मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
बैठक पछि बोल्दै महामन्त्री बिश्वप्रकाश शर्माले पूर्वसभामुख दमननाथ ढुंगाना एक सफल सभामुखका रुपमा एक सफल र प्रेरक ब्यक्तित्व भएको उल्लेख गरे । महामन्त्री शर्माले संसद प्रतिपक्षको सरकार बहुमतको भन्ने मान्यतालाई ढुंगानाले स्थापित गरेको भन्दै संसदिय लोकतान्त्रीक पद्धतीको अग्लो धरोहरको रुपमा रहेको जिकिर गरे ।
ढुंगनाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।