मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि धमाधम तयारी भइरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताको धमाधम तयारी थालिएको हो । दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ भने पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ ।
क्यानले पीच पुनर्निर्माणदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्मका कामहरू गरेको छ ।
क्यानले प्रतियोगिताका लागि सोमबार लिगको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबिच खेल हुने भएको हो ।
उद्घाटनको भोलिपल्ट अर्थात मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनका कारण कुनै खेल हुने छैन । मंसिर १७ मा काठमान्डु गुर्खाज र चितवन राइनोजले आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ । सोही दिन जनकपुर र कर्णाली याक्सबीच दास्रो खेल हुनेछ । यो जनकपुरको दोस्रो र कर्णालीको पहिलो खेल हुनेछ ।
तेस्रो दिन अर्थात मंसिर १८ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा चितवन र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी लायन्सले चौथो दिनमा आएर पहिलो खेल खेल्ने छ । टोलीको प्रतिस्पर्धा विराटनगरसँग हुनेछ । टोलीको एक दिन विश्रामपछि लगातार तीन खेल खेल्नेछ । पुस १ गते लिगको अन्तिम खेल हुनेछ, जहाँ सुदूरपश्चिम र कर्णाली भिड्नेछन् ।
आठ टोलीबीच राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछ । पुस ३ गते तेस्रो र चौथो हुने टोली इलिमिनेटर तथा सोही दिन दोस्रो खेलमा लिगको पहिलो र दोस्रो हुने टोलीबीच क्वालिफायर १ मा प्रतिस्पर्धा हुनेछ । क्वालिफायर १ को विजेता टोली सोझै फाइनल पुग्ने छ । इलिमिनेटरमा विजयी हुने टोली र क्वालिफायर १ मा पराजित हुने टोलीबीच फाइनलमा प्रवेश पाउन पुस ४ गते प्रतिस्पर्धा हुनेछ । फाइनल पुस ६ गते हुनेछ ।