उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

0 Shares
काठमाडौँ – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएकोउक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गङ्गा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने उल्लेख गर्दै सहकार्यका लागि आग्रह गरेका थिए। यस्तै, उनले नेपाली नागरिकले सीमामा आवतजावतमा समस्या भोगिरहेको उल्लेख गर्दै नेपालले महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको बताएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
नेपालको पूर्वाधार विकास, भूकम्प र कोभिड–१९ को समयमा भारतले गरेको सहयोगका लागि उपप्रधानमन्त्री सिंहले विदेश सचिव मिस्रीलाई धन्यवाद दिएका थिए। “नेपालको सहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो”, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने,  “हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौँ । सीमा नदीमा झोलुङ्गे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुरा राख्यौँ । भारतीय पक्ष यसमा सकारात्मक रह्योे ।”
भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आइपुगेका हुन्। विदेश सचिव मिस्री दुई दिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

सबै