काठमाडाैँ / सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका छन्। बजगाईंले पाण्डे लक्षित आफूले दिएको अभिव्यक्तिले चोट पुगेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।
सांसद बजगाईंले भनेका छन्, “सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,” “मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।”
बजगाईँले मन्त्री पाण्डेलाई क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए । त्यसपछि मन्त्री पाण्डेले बजगाईँले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए ।