के ट्रम्पले साँच्चै लाखौँ आप्रवासीलाई देशनिकाला गर्लान् त ?

0 Shares

काठमाडाैँ / अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रोपटक निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प आगामी जनवरीमा ह्वाइट हाउस फर्किने भएका छन् । ह्वाइट हाउस फर्किएपछि उनले आप्रवासीहरूप्रति कस्तो दृष्टिकोण राख्छन् भन्ने सबैको कौतहुलताको विषय बनेको छ ।

ट्रम्पले गत सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै राष्ट्रिय आपतकाल घोषणा गर्ने र अमेरिकामा गैरकानूनी रूपमा रहेका आप्रवासीहरूलाई देशनिकाला गर्ने बताएका छन् ।

उनले सन् २०१९ मा लागू भएको आफ्नो ‘रेमेन इन मेक्सिको’ कार्यक्रम पुनः सुरु गर्ने कुरा बताएका छन् । यस कार्यक्रमअन्तर्गत केही देशका नागरिकहरू उनीहरूको शरणार्थी आवेदनहरू प्रक्रियामा नगएसम्म मेक्सिकोमै रहनुपर्ने बाध्यकारी अवस्था थियो ।

मिडिया रिपोर्टका अनुसार ट्रम्पले सीमा पार गर्ने संख्या बढिरहेको र फेन्टानिल तथा बालबालिकाको तस्करीहरू बढिरहेकाले यी आपतकालीन कदमहरू चाल्नुपरेको बताएका छन् । ट्रम्पले सीमा पार गर्ने वा अन्य अध्यागमन कानुन उल्लङ्घन गर्ने सबै आप्रवासीहरूलाई पक्राउ गर्ने योजना रहेको समेत बताएका छन्। गैरकानुनी आप्रवासीहरूलाई पक्राउ गर्न र देशनिकाला गर्न नेशनल गार्ड प्रयोग गर्ने बताउँदै उनले आवश्यक परे सेना नै प्रयोग गर्न पछि नपर्ने उल्लेख गरेका छन् ।

आफ्नो चुनावी अभियानका बेला ट्रम्प अवैध आप्रवासीका सम्बन्धमा निकै कडा रूपमा प्रस्तुत भइरहेका थिए । यसपटक उनी आफ्नो पहिलो कार्यकालभन्दा पनि कडा हुन सक्ने अनुमान गरिएको छ । उनले सन् २०१७ देखि २०२१ सम्मका आफ्नो कार्यकालका अधूरा नीतिहरूलाई पूरा गर्न पहल गर्ने वाचा समेत गरेका छन् ।

सन् २०२० मा ट्रम्पलाई हराएर राष्ट्रपति बनेका जो बाइडेनले आफ्नो कार्यकालमा थप सुव्यवस्थित आप्रवासन नीतिहरू बनाउने भनेपनि उनले अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूको बढ्दो संख्यालाई नियन्त्रण गर्न भने संघर्ष गरेका थिए ।

पछिल्लोपटकको चुनावमा अध्यागमन नै मुख्य विषय रहेको थियो । एडिसन रिसर्चका अनुसार ३९ प्रतिशत मतदाताले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्ने अधिकांश आप्रवासीहरूलाई देशनिकाला गर्नुपर्ने बताएका थिए भने ५६ प्रतिशतले उनीहरूलाई कानुनी हैसियतका लागि आवेदनको मौका पाउनुपर्ने पक्षमा थिए । अक्टोबरमा आयोजित एक चुनावी र्‍यालीमा ट्रम्पले बाइडेनको शरणार्थी नीति सीमा सुरक्षाको लागि अपर्याप्त रहेको भन्दै त्यसलाई उल्टाउने बताएका थिए ।

ट्रम्पले अपराधीहरूलाई लक्षित गर्दै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गर्ने बताएका छन् भने लाखौं आप्रवासीहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने लक्ष्य समेत राखेका छन् । बाइडेनका प्राथमिकताहरू गम्भीर अपराधीहरूलाई केन्द्रीत रहेको भन्दै ट्रम्पले त्यसलाई अन्त्य गर्ने बताएका थिए ।

अमेरिकामा कित छन् आप्रवासी ?

अमेरिकाको गृह मन्त्रालय र प्यू रिसर्चको ताजा तथ्याङ्कका अनुसार सन् २०२२ सम्ममा अमेरिकामा झन्डै एक करोड १० लाख अप्रमाणित आप्रवासीहरू छन्। उक्त सङ्ख्या अमेरिकाको कुल जनसङ्ख्याको झन्डै ३.३ प्रतिशत हो।

सन् २००५ यता उक्त सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। यद्यपि प्यूले आधिकारिक तथ्याङ्कमा केही पक्ष प्रतिबिम्बित हुन नसक्ने चेतावनी दिएको छ। यो तथ्याङ्कमा क्युबा, भेनेजुएला, हेइटी र निकारागुआका मानवीय आधारमा अनुमति पाएका पाँच लाख आप्रवासीहरूसँग सम्बन्धित विवरण छुटेको हुन सक्छ।

धेरैजसो अप्रमाणित आप्रवासीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। तीमध्ये झन्डै ८० प्रतिशत मानिस अमेरिकामा एक दशकभन्दा बढी समयदेखि बस्नेहरू छन् र झन्डै आधाजसो मेक्सिकोका छन्। त्यसपछि ग्वाटेमाला, एल सासल्भाडोर र होन्डुरसका छन्।उनीहरू मुख्यतः छ राज्यमा केन्द्रित छन् : क्यालिफोर्निया, टेक्सस, फ्लोरिडा, न्यूयोर्क, न्यूजर्सी र इलिनोई ।

 

सम्बन्धित समाचार

सबै