काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन् ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएका थिए।
मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएका थिइन्।
सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।विदेश सचिव मिस्रीले सोमबार नै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए।
मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकि छन्। उनले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् ।