काठमाडाैँ/ सत्तारुढ दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ ।
सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ ।
एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ । सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ ।
त्यस्तै शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाे छ । एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए।
त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए।