काठमाडौं / ऐतिहासिक धरोहर धरहरा चढ्न आज आइतबारदेखि शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न आउनेहरुको सवारीसाधन पार्किङको पनि आजदेखि शुल्क लाग्ने भएको छ ।
सरकारले आजदेखि धरहरा चढ्दा टिकटको प्रतिव्यक्ति २ सय रुपैयाँ तोकेको हो । जसमध्ये विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि भने ५० प्रतिशत अर्थात् १०० रुपैयाँ छुट दिइएको छ ।
यसैगरी सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेकका अन्य देशका नागरिकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
यसै वर्षको संविधान दिवसको अवसरमा ९असोज ३ गतेदेखि० परीक्षणको रूपमा निःशुल्क धरहरा चढ्न दिइएको थियो । तर आज मंसिर ९ गतेदेखि सरकारले शुल्कसहित टिकट वितरण गर्न लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने सम्बन्धमा निर्णय गरेको थियो ।
यस्तै धरहरा क्षेत्रमा पार्किङका लागि चारपांग्रे र दुईपांग्रे सवारीसाधन गरी वर्गिकरण गरेर शुल्क तोकिएको छ । जसमध्ये चारपांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुईपांग्रेलाई प्रतिघन्टा १० रुपैयाँ तोकिएको छ ।
तर धरहरा नचढ्ने तर भित्र मात्रै प्रवेश गर्नेहरुले आजदेखि ५० रुपैयाँ तिर्नुपर्ने छ । यसवाहेक धरहराभित्र व्यवसायिक रुपमा भिडियो खिच्न प्रतिघण्टा ५ हजार र फोटो खिच्न प्रतिघण्टा १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।