काठमाडौं / नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता सुरु भएको छ । आइतबार बिहान सिंहदरबारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति सुरु भएको छ ।
टक–पटक प्रक्रिया सुरु गरे पनि विभिन्न कारणले छान्न नसकेको सरकारले यस पटक फेरि तीन जना प्रत्याशीहरूलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित भएका छन् । अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित रहेको स्रोतले जनाएको छ ।
अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुनसकेको थिएन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।
अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ ।
असोज १८ गते बोलाइएको अन्तर्वार्तामा सिफारिस समितिका संयोजक अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।