नेपाल प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’

0 Shares

काठमाडौँ । पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ ।

यही मङ्सिर १५ गतेदेखि आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौँ गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ । काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।

“काठमाडौँ गोर्खाज प्रतियोगितामा खाली सहभागी मात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ”, उनले भने । यसअघि भैरहवालगायतका स्थानमा अभ्यास खेल खेलेको काठमाडौँ गोर्खाजले एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्नेे विश्वास व्यक्त गरे । काठमाडौँ गोर्खाजले श्रीलङ्का र बङ्गलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उनको भनाइ छ ।

अक्सनको समयमा काठमाडौँ गोर्खाजलाई कमजोर टोली भनिएको प्रसङ्ग उल्लेख गर्दै प्रशिक्षक शाहीले भने, “कतिपयले काठमाडौँ गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।”

प्रशिक्षक शाही काठमाडौँ गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउँछन् । काठमाडौँ गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उहाँ चिकित्सकको नियमित निगरानीमा रहेको उनले बताए । “उहाँले अलिअलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेल अघि पूूर्णरुपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु”, प्रशिक्षक शाहीले भने ।

काठमाडौँ गोर्खाजले आफनो पहिलो खेल चितवन राइनोजसँग यही मङ्सिर १७ गते खेल्ने छ । प्रशिक्षक ठकुरी टी–ट्वान्टी क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउँछन् । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौँ गोर्खाजले जित निकाल्नेमा उनी  विश्वस्त छन् ।

काठमाडाँै गोर्खाज काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । काठमाडौँ गोर्खाजको  मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी छन् । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । काठमाडौँ गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका भीम सार्की र  शाहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् ।

त्यसैगरी काठमाडौँ गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुन् ।

इङ्ग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रर्दशन गरेका छन् । उनले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेल्नुभएको छ । त्यसैगरी क्यारिवियन क्रिकेट लिग, इन्टरनेशनल क्रिकेट लिग टी–ट्वान्टीलगायतको विश्वको विभिन्न खेल खेलेको अनुभव उनीसँग  छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की छन् । काठमाडौँ गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु वर्मा छिन् ।

प्रतियोगिताका लागि माइकल लेभिट भने नेपाल आइसकेका छन् । बाँकी विदेशी खेलाडी यही मङ्सिर दोस्रो सातासम्म नेपाल आइपुग्ने काठमाडौँ गोर्खाजले जनाएको छ । यसैगरी काठमाडौँ गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफनो टोलीले कब्जा गर्ने दाबी गरे । उनले काठमाडौँ गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गरे ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यस नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौँ गोरर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

सबै