विश्वयुद्धको यो अवस्थाको खुलेर विरोध गरौं

0 Shares

डा. युवराज संग्रौला
ट्रम्पको दुई महिना मात्र बाँकी छ । बाइडेनले युक्रेनलाई आणविक मिसाइल प्रयोग गर्ने अधिकार दिए । अर्थात् अमेरिकी हतियार व्यापारीको तेस्रो विश्वयुद्ध शुरु गर्ने लालसा पूरा हुने संभावना बढेको छ । ट्रम्पका छोराले ट्वीटबाट ‘युद्ध व्यापारीहरुको आलोचना गर्दै भनेका छन्, ‘ट्रम्पलाई सत्तामा पुग्न नदिन बाइडेन र उनका मान्छे तेस्रो विश्वयुद्ध शुरु गर्न चाहन्छन् ।’

१. अमेरिकालाई उसको भू गोलको सहयोग छ। दुईवटा महासागरको बीचमा, उ सुरक्षित छ भन्ने उसको सोच छ । उसको प्रभुत्ववादको एउटा कारण यो पनि हो । यही कारणले हो ऊ जेलेन्क्सी बोकेर तेस्रो विश्वयुद्धको खेलमा छ, किनकी उसलाई युरोप र रसिया दुवै ध्वस्त पार्नुछ । युरोपेली पुर्वउपनेवशवादीहरु मूर्ख छन्, उनीहरु कुहिरे छालालाई आफ्नो मान्छन् । यी आरोपहरु संसारभरीका मानिस गरिरहेका छन् । यो युद्ध शुरुभयो भने दक्षिण कोरिया, अरब, इजरायल र युरोपमा बसेका नेपालीको हालत के होला ? के नेपालको परराष्ट्र मन्त्रालयलाई यस्ता कुरा सोच्ने पनि ज्ञान छ ।

२.अमेरिका छिमेकी र विश्वका अन्य देशहरु चाहिँ अभागी भए जस्तो छ । मेक्सिको अमेरिकाको नाक मुनि छ, तर उसले १८४६ मा आफ्नो भूमिमात्र गुमाएन आज पनि अनेक पीडा भोग्नुपर्छ । क्यालिफोर्निया एक जमानामा मेक्सिको थियो, तर उसबाट खोसियो। ‘भनिन्छ बिचरा मेक्सिको भगवानबाट अति टाढा छ तर दुर्भाग्य अमेरिकाको अति नजिक छ।’ शीत युद्धताका अमेरिकाले दक्षिण अमेरिकामा राज्य विप्लवका अनेक घटना गरायो । निर्वाचित सरकार लडाएर निरंकुस सत्ता स्थापन गर्यो । बोलेर कसैको केही लागेन ।

३. ठूला प्रभुत्ववादी देशको छिमेकी भएपछि कमजोर छिमेकीको स्वतन्त्रता जहिले पनि खुम्चिँदो रहेछ, हामीले भन्दा बढी अरुले के भोगेका होलान र ! हिजो अस्ति मेक्सिकोका एक सांसदले भने“ मेक्सिकोले ब्रिक्सको सदस्य कहिलै हुन पाउने छैन। यता नेपालको हालत हामीलाई थाह नै छ । के देखियो दोस्रो विश्वयुद्ध पछि भने, ‘संसारको नियम प्रभुत्ववादी राष्ट्रले लेख्ने कुरा रहेछ । किनभने उनीहरु जवर्जस्ती गर्न सक्छन् । त्यसैले अहिले तेस्रो विश्वयुद्धको वादल लागेको छ, जगतमा।’

४. एउटा प्रश्न हाम्रो अगाडि छ । अमेरिकालाई लाग्यो मेक्सिकोले ब्रिक्सको सदस्य बन्नु हुन्न, तब मेक्सिकोले बन्नु हुन्न । अमेरिकिालाई मेक्सिकोमाथि दवाव दिने अधिकार छ भने, रसियालाई युक्रेनले नेटोको सदस्य बन्नु हुन्न भन्न किन नपाउने हो ? के मेक्सिकोले ब्रिक्सको सदस्य बन्न पाउनु पर्छ भनेर रसियाको सेना मेक्सिको आउन दिन्छ ? दिन्न । अनि अमेरिका किन युक्रेन गएको होला ? यस्तो कुरा सोच्न विवेक चाहिन्छ । रसियाको मिलिटरी बेस अमेरिकाले सहन्न भने युक्रेनलाई अमेरिकाको मिलिटरी बेस बनाउने अमेरिकी चाहनाको आधार के हो त ? किन बाइडेन मिसाइल हान्न उक्साइरहेका होलान् त ?

५. यो युद्ध शुरु हुनु हुने थिएन । तर उक्रेनलाई नेटो देश बनाउने पश्चिमी दवावले युद्ध शुरु भयो । अब आणविक युद्धको संघारमा जगत पुगेको छ। शक्तिशाली देशहरूलाई उनीहरुले चाहे झैं आफ्नो ताकत प्रयोग गर्न सजिलो छ। बाइडेनलाई लाग्छ रसियाले युक्रेनमा अमेरिकी बेस स्वीकार गर्नैपर्छ। अन्यथा रसियाले नेटोसँग लडाइँ गर्नै पर्छ । बाइडेन र उनका सहयोगीलाई लाग्छ, नेटो देशहरुको व्यापक सहयोगमा युक्रेनले रसियालाई हराउने छ । र जित्नेको इतिहास लेख्न सकिन्छ। त्यसैले बाइडेनको शिथिल दिमाग ठान्छ उनको विजेताको इतिहास लेखिने छ। अतः उनी अन्तिम दुई महिनाना इतिहास रच्न चाहन्छ, लाखौ मानिसको ज्यानको मुल्यमा ।

तर यस्तो होला जस्तो छैन। कुनामा पुर्याएर कुटिएको रसिया आफ्नो अस्तित्वको लागि ‘मर्ता क्या नै कर्ता’ को अवस्थामा छ। ४० वटा देशका हतियार र पैसा उसको बिरुद्धमा खन्याइको छ। यस्तो अवस्थामा रसियालाई हराउन उनले सक्छन् जस्तो लाग्छ । तर कति निर्दोष मानिसले ज्यान दिनुपर्ने हो । विश्वयुद्धको यो अवस्थाको खुलेर विरोध गरौं । शासकहरुले पनि शान्तिको पक्षमा उभिँदा हुन्छ ।

सम्बन्धित समाचार

सबै