काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले मंगलबार नुवाकोट र रसुवाका स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेका छन् ।
मन्त्री थापाले नुवाकोटस्थित हाइवे तथा वैकल्पिक चिकित्सालय, जिल्ला जनस्वास्थ्य कार्यालय र त्रिशुली अस्पतालको निरीक्षण गरेका छन् ।
त्यस्तै उनले रसुवा अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रसुवाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री थापाले स्वास्थ्य संस्थामा सेवा प्रवाह सहजरुपमा गर्न निर्देशन दिएका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले आआफ्ना कामकारबाही र समस्याबारे मन्त्री थापालाई जानकारी गराएका थिए ।
अनुगमन टोलीमा मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाल, सांसद डम्बर तामाङ, डब्लूएचओका प्रदेश स्वास्थ्य अधिकृत हरि भूसाललगायत सहभागी थिए ।
मन्त्री नियुक्त भएदेखि नै थापाले प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने घोषणा गरेका थिए । मन्त्री नियुक्त भएलगत्तै थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका थिए ।
त्यस्तै गत असोजमा आएको बाढीपहिरोमा परी घाइते भएका विरामीको निःशुल्क उपचार गराउन मन्त्री थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै मन्त्री थापाले प्रदेशमा डेंगु रोग नियन्त्रणका लागि पनि पहल गरेका थिए ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत १३ वटा प्रादेशिक अस्पताल छन् । मन्त्री थापाले यी अस्पतालहरुको स्तरोन्नतिदेखि सेवा प्रवाहलाई चुस्त बनाउन अनुगमन निरीक्षणमा लागेका छन् ।