आम्दानीको स्रोत तरकारीखेती

0 Shares

कैलाली । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

त्यसमध्ये एक हुन् कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उनले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए । रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए ।

उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । ‘पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिएँ । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ’, रानाले भने, ‘छ जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ ।’ उनले मौसमअनुसार तरकारी लगाउने गरेका छन् ।

सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका रानाले हाल करिब ६ कठ्ठा जग्गामा तरकारी खेती गरेका छन् । ‘पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ । पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ’, उनको भनाइ छ ।

सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाइन् । उनले एउटा ‘सिजन’मा एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताइन् । ‘मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ’, उनले भनिन् ।

सम्बन्धित समाचार

सबै