काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन ।” उनले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाए । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो ।
पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताए । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उनले उल्लेख गरेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताए । नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारकाविरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गरे । उनले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।